कोरोना जितेर घर फर्किइन् फ्रान्सबाट आएकी युवती

Law Hub Nepal वैशाख ६, २०७७

काठमाडौं । कोरोना संक्रमित काठमाडौंकी युवती संक्रमण मुक्त भएर घर फर्किएकी छन् ।

काठमाडौंकी १९ वर्षीया ती युवती प्रशिद्धि श्रेष्ठ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएकी हुन् ।

काठमाडौंको मैतीदेवी निवासी उनी कोरोना संक्रमणबाट मुक्त भएपछि शनिबार डिस्चार्ज भएर घर फर्किएकी हुन् । उनलाई परिवारका सदस्यले घर लिएर गएका हुन् ।

गत ४ चैतमा फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको उडान नम्बर ६५२ बाट काठमाडौं आइपुगेकी ती युवतीमा १० चैतमा कोभिड-१९ पोजेटिभ देखिएको थियो ।

त्यसपछि उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको थियो ।

पछिल्लो पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि शनिबार टेकु ट्रपिकल तथा सरुवा रोग अस्पतालले उनलाई डिस्चार्ज गरेको हो ।

टेकु अस्पतालमा डा. अनुप बाँस्तोलाका अनुसार कोरोना भाइरसको संक्रमणमा परेकी १९ वर्षीया युवतीको परिवारका सदस्यहरुको यसअघि नै रिपोर्ट नेगेटिभ आइसकेको छ ।

चैत ४ गते फ्रान्सबाट कतार हुँदै कतार एयरवेजको बिमानमा आएकी उनलाई कोभिड पोजिटिभ देखिएपछि टेकू अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

उनी कोभिड-१९ पोजेटिभ पुष्टि भएको २७ दिनपछि डिस्चार्ज भएकी हुन् ।

यसअघि नेपालमा पहिलो कोभिड-१९ चीनको वुहानबाट फर्किएका पुरुष निको भएर घर फर्किसकेका छन् । उनलाई जनवरी २३ तारिखमा कोरोना पुष्टि भएको थियो ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार