नेपालमा पहिलो पटक  भिडियो कन्फरेन्सबाट संसदीय समितिको बैठक

Law Hub Nepal चैत्र २९, २०७६

काठमाडौं । नेपालमा पहिलो पटक भर्चुअल (अनलाइनमार्फत गतिविधि) मिनी संसदको अभ्यास सुरु भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण संसदीय विषयगत समितिका बैठकहरु बस्न नसकिरहेका बेला शनिबार प्रतिनिधिसभाको अर्थ समितिको बैठक भिडियो कन्फरेन्समार्फत बसेको हो ।

समिति सभापति कृष्णप्रसाद दाहालका अनुसार शनिबारको छलफलमा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री एवं नेकपा सांसद सुरेन्द्र पाण्डे, सांसदहरु रामवावु यादव, श्यामकुमार श्रेष्ठ लगायत ९ जना सहभागी थिए ।

कोरोना भाइरसका कारण सदनको कामकारबाही रोकिए पनि वेलायतका संसदीय विषयगत समितिले प्रविधिको प्रयोग गर्दै छलफललाई निरन्तरता दिइरहेका छन् ।

संसदीय व्यवस्था भएका अन्य मुलुकहरुमा समेत कोरोना भाइरसबाट जोगिएर कसरी संसदको कामकारबाहीलाई निरन्तरता दिन सकिन्छ भन्ने विकल्पको खोजी भइरहेको छ । नेपालमा पनि यसबारे बहस जारी छ ।

यही बेला प्रतिनिधि सभाको अर्थ समितिले संसदीय व्यवस्थाको जननी मानिने वेलायती मिनी संसदको अभ्यासको सिको गर्दै शनिबार उपलब्ध समिति सदस्यहरुका बीचमा भर्चुअल बैठक गरेको हो ।

दुई वटा निर्णय गरियो 

शनिबारको अर्थ समितिको भर्चुअल बैठकले मुख्य दुई वटा निर्णय गरेको छ ।

पहिलो– आउँदो बुधबार सबै समिति सदस्यहरुको सहभागितामा भर्चुअल बैठक बस्ने ।

दोस्रो– कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा पारेको प्रभावको विवरण अर्थ मन्त्रालयसँग माग गर्ने । र बुधबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडासहित मन्त्रालयका केही कर्मचारीहलाई भर्चुअल बैठकमा आमन्त्रण गर्ने ।

बैठकपछि समिति सदस्य बाबुराम भट्टराईले कोरोना भाइरसको महामारीको सन्दर्भमा राज्यले लिनुपर्ने तत्कालीन राहतको नीति र आगामी बजेटको तयारीका निम्ति भर्चुअल बैठकको आवश्यकता महसुस भएको बताएका छन् ।

अन्य समितिको पनि तयारी

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति, सार्वजनिक लेखा समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिलगायतका समिति सभापति र सदस्यहरुले समेत सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर संसदीय समितिको बैठकको निरन्तरताको विषयमा छलफल गरेका छन् ।

भर्चुअल बैठक नै बस्नुपरे पनि बस्ने उनीहरुको तयारी छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार